
पूर्णपुष्टि, भदौ १
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोमा एकजनालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई काठमाडौंको तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमबार झापाको अर्जुनधारा नगरपालिका–२ शान्ति चोकबाट जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
कार्कीमा पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङ्थुमका ध्रुवकुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाइदिने र कोकाकोला कम्पनीमा मासिक तीन लाख कमाइ हुने जागिर लगाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको अभियोग छ ।
पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
