Wednesday, April 22News That Matters

देशभर वर्षाको सम्भावना, केही स्थानमा मुसलधारे वर्षाको चेतावनी

पूर्णपुष्टि, साउन २३ । जल तथा मौसम विज्ञान विभागले आज साउन २३ गते देशभर मनसुनी वायुको प्रभाव रहेको र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकोले देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ।

विभागका अनुसार कोशी, मधेश, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहने र धेरैजसो प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।

मौसम विभागले कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

आगामी २४ घण्टामा पनि देशभर साधारणतया बदली रहने र अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेकोले गेग्रान बहाव, बाढी, पहिरोको जोखिम रहेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात लगायतका क्षेत्रमा असर पार्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

गत २४ घण्टामा धरानमा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा मापन गरिएको छ भने काठमाडौंमा ७३ मिलिमिटर वर्षा भएको छ। अन्य शहरहरूमा पनि उल्लेख्य मात्रामा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।