
पूर्णपुष्टि, जेठ १६ ।
ओरेक नेपालको देशभर रहेका कर्मचारीहरुले एकदिन वापतको तलब रकम संकलन गरी नेपालको पहिलो कोरोना इपिसेन्टर उदयपुरको भुल्केका बृद्धबृद्धा, एकल तथा गर्भवती महिला र अशक्त परिवारलाई आज राहत प्रदान गरेको छ ।
ओरेक नेपाल, उदयपुर (राजाबास) की संयोजक सुनिता मैनालीका अनुसार देशको १५ वटा जिल्लाका ओरेक शाखा तथा परियोजना कार्यालयका १ सय ४० कर्मचारीहरुको एकदिनको तलब संकलन गरी करिब डेडलाख बराबरको खाद्यान्न राहत प्रदान गरिएको हो ।
ओरेक नेपाल उदयपुरको कर्मचारी टोलीले ३ नं. वडाध्यक्ष अवधेशकुमार चौधरी र भुल्केका चारवटा टोल विकास संस्थासंग समन्वय गरी आज राहत वितरण गरेको हो ।
टाेल विकास संस्थाकाे सिफारिसमा भुल्केका ८० परिवारलाई २५ केजी चामल, एक किलो गेडागुडी, एक किलो नुन, एक लिटर तेल, ६ वटा साबुन र १ किलो सरफ राहतकोरुपमा वितरण गरेको हो ।
वडाध्यक्ष चौधरीले राहत वितरणबाट लामो समय सिलमा परेर प्रभगावित बनेको जनजीवनलाई सहयोग पुगेको भन्दै आरेक कर्मचारी र ओरेकलाई धन्यावाद दिनुभयो । आरेक उदयपुरकी अध्यक्ष रामवती चौधरीले देशभरका ओरेक कर्मचारीहरुबाट सहयोग संकलन भई वितरण गरेर प्रशंसनीय काम गरेको बताउनुभयो । भुल्केका स्थानीयबासी तथा सञ्चारकर्मी यदुप्रसाद ढकालले सहयोगप्रति खुसी ब्यक्त गर्दै आरेकका कर्मचारीले देशैभरबाट सम्झेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
भुल्केमा संक्रमणको जोखिम कम भएपछि केही दिनयता प्रशासनले सिल हटाएको छ । गाउँको सिल हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ । जनजीवन सामान्य बन्दै गएपनि उच्च सतर्कता अपनाउने र स्वास्थ्य अनुशासन तथा व्यवहार अपनाउने काम जारी छ ।
तस्विरहरू :

