Tuesday, April 21News That Matters

देशभरका विभिन्न सडक अझै अवरुद्ध, यात्रु आवागमन प्रभावित

पूर्णपुष्टि, असोज १७ । गत शुक्रबार र शनिबारको लगातारको वर्षापछि देशका विभिन्न भागमा सडक अवरुद्ध भएको अवस्था कायमै छ । काठमाडौं उपत्यकामा नख्खुडोल पुल नजिक सडक भासिएका कारण सवारी साधन चल्न सकेका छैनन् । यस्तै वीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथमा पहिरोका कारण यातायात सेवा ठप्प रहेको छ ।

काभ्रेपलाञ्चोकमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडिदेखि नै पूर्ण रूपमा अवरुद्ध छ । सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिकामा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन रोकिएको छ । रामेछापमा सुनकोशी नदीले मन्थली नगरपालिकाको पुल र खाडादेवी गाउँपालिकाको खैरेनी पुल बगाउँदा खुर्कोट-मन्थली तथा सिन्धुली, नेपालथोक-मन्थली सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमै ठप्प छ ।

यस्तै, उदयपुरको रौतामाई र खोटाङको खोटेहाङ गाउँपालिका जोड्ने पुल भत्किएकाले सगरमाथा राजमार्गको आवागमन प्रभावित छ । पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलाको बेलीब्रिज बाढीले बगाउँदा मेची राजमार्गमा पनि आवतजावत रोकिएको छ । यद्यपि काठमाडौं उपत्यकाको अन्य भागमा सवारी आवागमन सामान्य रहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट १० हजार ३७० सवारी साधनमार्फत ५२ हजार २५४ यात्रु उपत्यका भित्रिएका छन् भने ११ हजार २२१ सवारी साधनमार्फत ६१ हजार २८५ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।