
पूर्णपुष्टि, साउन २४ । धरान उपमहानगरपालिकाले बढाएको खानेपानी महसुल तथा शुल्कविरुद्ध नाराबाजी भएको छ। उपमहानगर कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गर्न खोज्दा प्रहरीसँग केही धकेलाधकेल भएको थियो, जसमा एक प्रहरी कर्मचारीको औंलामा चोट लागेको छ।
करीब २०० जना प्रदर्शनकारीहरू उपमहानगरपालिका कार्यालयबाहिर नारा लगाइरहेका छन्। इलाका प्रहरी कार्यालय धरानका डीएसपी मानबहादुर राईका अनुसार प्रदर्शनकारीहरू उपमहानगर कार्यालयमा प्रवेश गर्ने क्रममा प्रहरीसँग केही झडप भएको थियो। तर अहिले स्थिति नियन्त्रणमा रहेको उनले बताए।
बिहीबार मात्र प्रदर्शनकारीहरूले उपमहानगर कार्यालय अगाडि धर्ना दिएका थिए। १० राजनीतिक दलले मिलेर सोमबार धरानका विभिन्न स्थानमा खानेपानी महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए। उपमहानगरका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्न महसुल बढाएको बताएका थिए। तर विपक्षी दलहरूले यसैविरुद्ध आन्दोलन गरिरहेका छन्।
