
पूर्णपुष्टि, असार ११ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नक्कली बिल बनाएर राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले ४२ कर्मचारीमाथि अनुसन्धान थालेको छ ।
विभागका अनुसार विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । व्यापारीले राजश्व छली गर्ने उदेश्यले बनाएको नक्कली बीलकै आधारमा कर्मचारीले आयातित वस्तुको भन्सार जाचँपास गरेको देखिएको विभागले जनाएको छ ।
व्यापारीसँगको मिलोमतोमा करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान थालिएको विभाग स्रोतले जनाएको छ । ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । वस्तु आयातमा जारी गरिने बिल च्याति फोटोकपी गरेर नक्कली बिल बनाएर भन्सार छली गरेको विभागले जनाएको छ । विस्तृत अनुसन्धानपछि मात्रै थप विषय खुल्ने स्रोतले जनाएको छ । अनुसन्धाको क्रममा रहेकोले संलग्न कर्मचारीको नाम र छली भएको राजस्वको रकम विभागले खुलाएको छैन् । उक्त छलीमा नासुदेखी अधिकृत तहसम्मका कर्मचारको संलग्नता देखिएको विभागले जनाएको छ ।
गत हप्ता राजस्व अनुसन्धान विभागले संलग्नहरुको सूची तयार गरी वयान कालागी समन्वय गरिदिन भन्सार विभागलाई पत्राचार गरिसकेको छ । यस प्रकरण संगठित वा व्यक्तिगत रुपमा भएको भन्ने अध्ययन भईरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रक्रियाबारे औपचारिक जानकारी नभएको भन्सार विभागले जनाएको छ । ‘अनौपचारिक रुपमा मातहतका कार्यालयका कर्मचारीहरु अनुसन्धानमा परेको भन्ने सुनिएको छ ‘एक अधिकारीले भने’ केही कर्मचारीहरु बयानमा गएको भन्ने सुनिएको पनि छ । तर कति संख्या र विषयको गहिराई हामीलाई थाहा हुन्न ।’
