Wednesday, April 22News That Matters

नवनिर्मित भवनको शिलालेखमा नाम नलेखिएको भन्दै कटारी नगरपालिको कार्यपालिका सदस्यले गरे लफडा

पूर्णपुष्टि, बैशाख १८ ।  उदयपुरको कटारी नगरपालिकामा शनिबार नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहमा अप्रत्याशित विवाद भयो । कार्यपालिका सदस्यहरूले शिलालेखमा आफूहरूको नाम नलेखिएको भन्दै मेयर राजेशचन्द्र श्रेष्ठसँग तीव्र असहमति जनाएका छन् ।

झण्डै तीन करोड १५ लाख रुपैयाको लागतमा निर्मित यो प्रशासकीय भवनको उद्घाटन कार्यक्रमको मुख्य आकर्षण भने शिलालेख विवाद बन्यो । उद्घाटन समारोहको क्रममा राखिएको शिलालेखमा केवल मेयर र उपमेयरको नाम मात्र उल्लेख गरिएको थियो । तर त्यसमा वडा अध्यक्षको नाम समेत लेखिएपछि कार्यपालिका सदस्यहरूले आपत्ति जनाएका थिए ।

कार्यपालिका सदस्य देवीकुमारी घिमिरेले विवादको मुख्य कारण स्पष्ट पार्दै भनिन्, “शिलालेखमा मेयर र उपमेयरको नाम मात्र लेखिएको भए कुनै आपत्ति नहुने थियो । तर अध्यक्षको नाम लेखिएकोले आफूहरूको नाम समेत लेखिनुपर्ने कुरा उठाएका हौं ।” उनले वडा अध्यक्षकै हैसियतमा आफूहरूको रहेकोले शिलालेखमा नाम राख्नुपर्ने माग गरेकी छिन् ।

घिमिरेले थप स्पष्टीकरण दिँदै भनिन्, “पदीय मर्यादाक्रममा वडा अध्यक्षकै हैसियत रहेकोले सदस्यहरूको नाम लेखिनुपर्ने मात्र हाम्रो माग हो । अध्यक्षको नाम लेखिएपछि शिलालेखमा हाम्रो नाम पनि लेखिनुपर्ने कुरा राखेका थियौं ।” कार्यपालिका सदस्यहरूको तर्क छ कि यदि वडा अध्यक्षको नाम शिलालेखमा समावेश गरिने हो भने उनीहरूको नाम पनि उल्लेख हुनुपर्छ किनभने सबैको पदीय हैसियत समान छ ।