Wednesday, April 22News That Matters

निर्मला पन्त हत्याकाण्ड : ६ वर्षमा ६ समिति, तर न्याय अझै टाढा

पूर्णपुष्टि, साउन १० । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ। यस अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

प्रहरीले १२४ जनाको डीएनए परीक्षण र ६५५ जनासँग सोधपुछ गरेको जनाएको छ। अनुसन्धानमा राज्यको ३२ लाख ९० हजार खर्च भइसकेको छ। तर यति ठूलो लगानी र प्रयास पछि पनि न्याय पाउन सकेको छैन। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बीचमा नै मतभेद देखिएको छ। कोही सुरुमै पक्राउ परेका दिलीपसिंह बिष्ट नै दोषी भएको दाबी गर्छन् भने अरू डीएनए नमिलेकाले अन्य व्यक्ति पनि हुनसक्ने तर्क गर्छन्।

पछिल्लो गृहमन्त्री रवि लामिछानेले हत्यारा पत्ता लगाउन नजिक पुगेको दाबी गरेका छन्। तर गृह प्रशासन अझै पनि ‘अनुसन्धान जारी छ’ भन्ने रेडिमेट जवाफमा सीमित छ। १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।