
पूर्णपुष्टि/उदयपुर, असार ३१ ।
हिजाे बिहानको अविरल वर्षाका कारण उदयपुरको रौतामाई गाउँपालिका–७ मा निर्माणाधीन सडकखण्डमा पहिरो जाँदा स्थानीय कृषकको ठूलो क्षति भएको छ । लहान सडक डिभिजन कार्यालयमार्फत निर्माणाधीन पुवारे–डुमृथुम्का–रानिवास हुँदै रौता मन्दिर निकास जोड्ने सडक अन्तर्गत पुवारे–आपसुता बीचको खण्डमा संरचना निर्माणको काम ढिलाइ हुँदा सडकबाट पहिरो खसेको स्थानीयले बताएका छन् । 
पहिरोका कारण कम्तीमा चार बिघा खेतीयोग्य जमिन, गाईगोठ, बङ्गुर खोर, फलफूल बगैंचा तथा तरकारीबारी पूर्णरूपमा पुरिएको छ । यसले उक्त जमिन तत्काल खेतीपाती वा अन्य प्रयोजनका लागि प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ ।
रौतामाई गाउँपालिका–७ का वडाध्यक्ष मनोज मगरले निर्माण कार्यमा ढिलाइ र आवश्यक सुरक्षात्मक संरचना समयमै निर्माण नगर्दा ठूलो क्षति भएको भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
उनले निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी, लहान सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले घटनाको स्थलगत निरीक्षण गरी पीडित कृषकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक संरक्षणका काम तत्काल अघि बढाउन माग गरेका छन् ।
