
पूर्णपुष्टि, फागुन ३० । नेपाल कहिले पनि मृत्यु दण्डको पक्षमा जानु नहुने नेकपा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । मृत्यु दण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको ओलीको तर्क थियो ।
आज काठमाण्डौमा भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मृत्यु दण्ड दिने कानुनमा नेपालीहरु जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् ।
‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नरहेको उनको भनाई छ । त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन ।’ अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
