
पूर्णपुष्टि, जेठ १२ गते ।
सरकारले सार्वजनिक गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहित नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् ।
यस शैक्षिक सत्रको कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी अहिले गृहकार्य थालिएको छ । यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया सकिन लागे पनि विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ ।
यसको लागी आधिकारिक निर्देशन आउन बाँकी रहेको विकास केन्द्रले जनाएको छ । निर्देशन आएमा विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराउने योजना पूरा गर्न सकिने जनाईएको छ ।
छपाइ हुन बाँकी रहेको पुस्तकमा स्वीकृति दिन सकिने छ । छपाइ भएर विद्यार्थीको हातमा पुगिसकेको पुस्तकको हकमा भने विद्यालयलाई जानकारी गराएर विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराई पढ्न प्रेरित गरिनेछ । यसमा प्रविधिको प्रयोग गरेर शिक्षकलाई जानकारी गराउने योजना अगाडि सारिएको छ ।
नेपालको नयाँ नक्सा मात्रै अलगै छपाई गरेर विद्यालय तहसम्म पु¥याउन सकिने छ । छापिएका पुस्तकहरुको हकमा सबैभन्दा पछिल्लो पातोमा नक्सा टाँस गरेर पनि विद्यार्थीलाई उपलब्ध गराउन सकिने जनाईएको छ ।
