Saturday, May 2News That Matters

नेपालमा आज एकै दिन १० हजार भन्दा बढीमा कोरोना संक्रमण, हाल सम्मकै उच्च

पूर्णपुष्टि, माघ ४
नेपालमा हाल सम्मकै उच्च कोरोना संक्रमित संख्या फेला परेको छ । आज मात्रै १० हजार भन्दा बढी मानिसहरु कोरोना संक्रमितको सिकार भएको छ । यो संख्या नेपालमा कोरोना सुरु भएदेखिकै उच्च संख्या हो । यसअघि मे ११, २०२१ मा सर्वाधिक ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए।

देशभर फैलिएको संक्रमण र पुष्टि भएको संख्या हेर्दा मंगलबार मात्रै करिब १० हजार २५८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ । पछिल्लो विश्वमै तेस्रो लहर ओमिक्रोन फैलिरहेको अवस्था छ । त्यो अवस्था बाट नेपाल पनि अछुतो छैन् । मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७ सय ३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।

यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन् । यस्तै, काठमाडौं उपत्यकामा एकै दिन ५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० सहित ५५४९ संक्रमित थपिएका छन्।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । यसैबीच माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।

माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको हो । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक १९ हजार ६९५ पुग्नसक्ने जानकारी गराएका हुन्।

जसमा झन्डै १० हजार विरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ। यस्तै अस्पताल भर्ना भएका विरामीमध्ये ३ सय ९४ जना गम्भिर बन्नसक्ने बताइएको छ। समग्रमा तेस्रो लहरमा झन्डै १५ हजार गम्भीर संक्रमित पुग्नसक्ने प्रक्षेपण गरिएको छ।