Thursday, May 21News That Matters

नेपालमा लगानी वृद्धि : ११ महिनामा सवा दुई खर्ब रुपैयाँको प्रतिबद्धता

पूर्णपुष्टि, असार १९ । नेपालमा चालु आर्थिक वर्ष २०८०÷०८१ को ११ महिनामा उल्लेखनीय लगानी वृद्धि भएको छ । उद्योग विभागका अनुसार यस अवधिमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । कुल ३८३ वटा उद्योग दर्ता भएका छन्, जसमा ४९ ठूला, ५० मझौला र २८४ साना उद्योग समावेश छन् ।

वैदेशिक लगानीतर्फ ३५५ लगानी प्रस्ताव स्वीकृत भई ४४ अर्ब ३४ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । यो रकम सरकारले अनुमान गरेको ३८ अर्ब रुपैयाँभन्दा बढी हो । यस लगानीले रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । स्वीकृत लगानी र दर्ता भएका कम्पनीहरूले २६,०२७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । वैदेशिक लगानीतर्फ मात्रै १७,६४२ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

यसैबीच, ११ महिनाको अवधिमा २ वटा प्याटेन्ट, ११ वटा डिजाइन र ५,४९४ वटा ट्रेडमार्क दर्ता भएका छन् । साथै, ४५ वटा प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भएको विभागले जनाएको छ । यी तथ्यांकहरूले नेपालको औद्योगिक क्षेत्रमा बढ्दो लगानी र विकासको संकेत दिन्छन्, जसले देशको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।