
पूर्णपुष्टि, साउन १९ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) – नेपाली सेनाका एक जवानले आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, कावासोती नगरपालिका-७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत २२ वर्षीय जवान सुदीप मिजारको मृत्यु भएको हो।
प्रहरी नायव उपरीक्षक पौडेलले बताए अनुसार, “धादिङ गल्छी गाउँपालिका-४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५.५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ।” घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको पौडेलले जानकारी दिए।
