
पूर्णपुष्टि, चैत २३ गते ।
बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सप्तरीमा विरोध प्रदर्शन भएको छ ।
मृतक डा. यादवका आफन्त तथा जिल्लाबासीले सदमुकाम राजविराजमा प्रदर्शन गरका छन् । प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, हत्यारालाई कार्वाही गर, घटनाको सम्बन्धमा न्यायीक छानविन गर, हत्यारलाई संरक्षण गर्न पाइदैन, गुन्डागर्दी बन्द गर, नोबेल अस्पताल मुर्दावाद, गृहमन्त्री मृर्दावाद लगायतका नारा लगाएका थिए ।
बिरोध प्रदर्शनपछि मृतकका आफन्तले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मोरङका प्रमुख जिल्ला अधिकारीलाई हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र पठाएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालका– १ खुरुहुरिया घर भई विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विजय १८ चैतको राति आफ्नै डेराबाहिर मृत अवस्थामा फेला परेका थिए ।
हाडजोर्नीका चिकित्सक यादवको अस्पतालभित्रकै केही चिकित्सकसँग चरम विवाद रहेको बुझिएको भन्दै ज्ञापन पत्रमा सोही कारण नियोजित हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
हत्यामा मेडिकल माफिया समेतको संलग्नता हुन सक्ने अवस्था देखिएकाले ३ दिनभित्र दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।
