
पूर्णपुष्टि संवाददाता
धरान, साउन ३० ।
नौलो पथ ब्याडमिन्टन क्लव, धरान -१५ को आयोजनामा शनिबार पुरुष तथा महिला डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुष तथा महिला डबल्सतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
पुरुष डबल्सतर्फ नागेन्द्र राई र मनजित राईको जोडी विजेता बनेको छ। राजन राई र तुफान राईको जोडी उपविजेता बने।
त्यसैगरी महिलातर्फ सोनी मगर र मिना मगरको जोडी विजेता तथा बिमला राई र आशिका राईको जोडी उपविजेता बनेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई समापन समारोहका बीच पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
आयोजक कमिटीका मनिष मगरका अनुसार खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, विजेता तथा उपविजेताहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्न खेलाडीहरूले आग्रह गरेका छन्।
आयोजक क्लवले आगामी दिनमा पनि खेलाडीहरूको उत्साह र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले थप प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
