
वीरसबावु शाही , पूर्णपुष्टि
१९ कार्तिक २०८३, उदयपुर । प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा पश्चिम बङ्गालको जर्जियन फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न दोश्रो सेमिफाइनलमा सुनसरीको न्यु स्टार फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जर्जियन एफसीले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।
उदयपुरस्थित थरुहट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा जर्जियन एफसीले पहिलो हाफमै अग्रता बनाएको थियो । जर्जियनका जर्सी नम्बर ७ का सृजल राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि जर्सी नम्बर ९ का संजय धिमालले थप एक गोल गरेपछि जर्जियन २–० ले अघि बढ्यो ।
दुई गोलले पछि परेको न्यु स्टारले खेलमा फर्कने प्रयास जारी राख्यो । खेलको अन्तिम मिनेटमा न्यु स्टारका जर्सी नम्बर १८ का यसराज विकले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । निर्धारित समयको खेल जर्जियन एफसीले २–१ ले आफ्नो पक्षमा पार्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि पहिलो गोल गरेका सृजल राई म्यान अफ द म्याच घोषित भए ।
यस जितसँगै जर्जियन एफसीले प्रतियोगिताको उपाधिका लागि सातदोबाटो युवा क्लब, ललितपुरसँगको भेट पक्का गरेको छ । आगामी शनिबार हुने फाइनलमा दुवै टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
