Thursday, May 7News That Matters

पहिलो पत्र (लेख)

 गोठकृष्ण ठकुरी 

जेठको त्यो छोटो रातमा, छोटो जिन्दगी जिएकी तिमी, छोटो बेथाले, छोटो समयमा, छोटाछोटी छोराछोरी छाडेर हामीबाट धागो चुडिएको चङगा झै हराई हाल्यौ । त्यो रात सुतेर विउँझनेहरु सबै रोए, तिमी विउँझेनौ । तिमीले त आफ्नो पीडा सबै सुनाएर गयौ,  म पो कसलाई सुनाउँ ।  छैन मसँग सिरानी खोज्दै आउने शिर । छैन मसँग तिम्रो दाहिने हात ।

छैन मसँग तिम्रो मुटुको माया । छैन मसँग मैले ऐना हेर्ने तिम्रो आँखा । छैन मसँग निराश हुँदा के भयो भन्ने आवाज । भैगो मेरो कुरा पछि गरम्ला बरु सुनाउन तिम्रो खबर के छ ?  त्यहाँ त राम्रै होला नि तिमीलाई म त यहि कामना गर्छु यहाँ बसरे । साँची सास फेर्न छोडे पछि कस्तो हुने रैछ ? दुख्ने पोल्ने, छातीमा गाँठो परे जस्तो हुने त्यो सबै सन्चो भयो होला नि हैन ।

.कि दुखी राख्ने रैछ सुनाउन,  अँ भनत के बाटोमा गरुड पुरानमा भने जस्तै अप्ठ्यारो हुने रहेछ कि सजिलो ? अनि अहिले तिमी कहाँ छौ ? हजुरआमाले जाउँ भन्नु भाछ भन्थ्यौ हजुरआमालाई भेट्यौ कि नाई । यदि भेटेर सँगै छौ भने मेरो दर्शन भनि देऊ है । जिउँदो हुँदा जस्तो मरेपछि आफन्त भेट्न पाइन्छ कि नाई ? भेट्न पाइने रहेछ भने सबै आफन्तहरुलाई भेट्नु अनि सुनाई दिनु बाँचेकाहरु सबै सन्चै छन् भनेर है, बुढि । यता हामी सबैलाई ठिकै छ , मेरो मामु खै भनेर, बाबु घरीघरी सोधिरहन्छ, तिमी नआउने गरी गएकी हौ भन्ने उसलाई थाहा छैन । मैले भनेको पनि छैन । बाबु ठुलो भएपछि ममि आउछे भनेर ढाँटेको छु । पछि ठुलो भएपछि उ आफैले बुझ्ला नि । छोरीहरु त आफै सम्हालिएका छन् ।

उनीहरु त मलाई नै बरु कति पटक नरुनु भनेर सम्झाउछन् । सानी छोरीले त मेरा कति पटक आँसु पुछि दिएकी छ । तिमीलाई थाहा छ, हाम्रो छोरी दुईटै तिमी गएपछि ज्ञानी लगनशील मिहिनेती भएकी छ । बरु म आजभोली अल्छी बनेको छु । अनि सुनन, मान्छेहरु भन्छन्,मरेको मान्छे दुईचार दिनसम्म त्यतिकै भौतारिन्छ । घर खोज्दै आउँछ भन्थ्यो । तिमी आउँछौ कि भनेर कति पटक उठेर हेरेँ, आएनौ । कुकुर भुक्ने वित्तिकै उठेर हेर्थे, तिमीलाई देखेको भए कुकुर धपाई  दिन्थेँ तर मेरो मायामा तेत्रो तागत कहाँ थियो र तिम्रो आत्मालाई देख्न सक्ने । तेत्रो तागत थियो भने तिमीलाई जानै दिन्न थिएँ ।  मलाई सबैले विर्सदै जानु पर्छ,  जाने गइहाल्यो भनेर सम्झाइरहन्छन् । मैले तिमीलाई विर्सन के आवश्यक छ र ?

मैले यहाँ तिमीलाइ सम्झिरहँदा गाह्रो त हुँदैन नि हैन । जति सक्छु सम्झि रहन्छु ल । सम्झिन बाहेक उपाय पनि के छ र मसँग । जति  गरे पनि मेरो दुईहातले जोगाएर राख्न सकिन तिमीलाइ चारवटा हात हुनेले खोसेर लगि हाल्यो । बल्ल थाहा भो मुर्तिकारले भगवानको चारवटा हात किन बनाएको रहेछ । आफुले नसक्दा भगवानले बचाइदिन्छ जस्तो लाग्थ्यो । त्यसैले दुनियाभरको भगवान पुकारियो । आखिरमा भगवानको मात्र बद्नाम भयो । पसल जान लाग्छु तिमीले फलाना सामान पनि सकिएको छ है भने जस्तो  लाग्छ, बाहिर कतै जान लाग्छु, त्यहाँ अल्मलिएर बस्ने हैन है भने जस्तो लाग्छ , कपडा लाउन लाग्छु, खै न यता यहाँ मिलेको छैन भने जस्तो लाग्छ । खै मलाई तिमी छैन जस्तो कहिले लाग्ने हो थाहा छैन । आज यो भन्दा धेरै लेख्न सक्दिन । बाँकी अर्को पत्रमा

ठेगाना ः त्रियुगा नगरपालिका ३ मोतिगडा