
पूर्णपुष्टि, साउन १४ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्व सामाजिक विकासमन्त्री झपटबहादुर साउदमाथि ठगीको आरोप लागेको छ। व्यवसायी धनबहादुर बोहराले साउदले विभिन्न योजना र ठेक्कापट्टा मिलाइदिने आश्वासन दिएर एक करोड ५० लाख रुपैयाँ लिएको तर काम नगरेको आरोप लगाएका छन्।
बोहराका अनुसार साउदले हालसम्म २२ लाख रुपैयाँ मात्र फिर्ता गरेका छन्। बाँकी रकम फिर्ता माग्दा साउदले प्रहरी लगाएर हैरानी दिएको बोहराको आरोप छ। यस सम्बन्धमा बोहराले काठमाडौं जिल्ला अदालतमा साउदविरुद्ध ठगी तथा अपराधिक बल प्रयोगको मुद्दा दायर गरेका छन्।
यसअघि पनि बोहराले साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए, जुन पछि फिर्ता लिइएको थियो। तर अहिले उनी अदालतको शरणमा पुगेका छन्। अर्कोतर्फ, साउदले आफूले बोहरासँग १० लाख रुपैयाँ मात्र लिएको र त्यो रकम चुक्ता गरिसकेको दाबी गरेका छन्। उनका अनुसार बोहराले आफूलाई निरन्तर ब्ल्याकमेलिङ गरिरहेका छन्।
