
पूर्णपुष्टि,जेष्ठ ११ । नेपालमा प्रत्यस वर्ष १० प्रतिशतसम्म पेट्रोलियम पदार्थको आयात बढ्ने गरेकोमा यस वर्ष भने १६ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार यो वर्ष खपतमा कमी हुँदा आयतमा कमी भएको जनाएको छ ।
चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर ९डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास० पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षमा सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।
करिव दस महिनाको अन्तरालमा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको र आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी आएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिए ।
गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । मुलुकमा आर्थिक सङ्कटका कारण विकास निर्माण पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
