
पूर्णपुष्टि, कार्तिक १९ । बुधवार राजधानीमा नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ अध्यायको सुरुवात भएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) सहित जम्मा दस वटा कम्युनिस्ट पार्टीहरूको राष्ट्रिय एकता सम्मेलनको औपचारिक थालनी भएको हो ।
सम्मेलनको शुभारम्भ विशेष शैलीमा गरिएको थियो । सबै घटक दलका शीर्ष नेताहरूले एकसाथ मिलेर रिमोट थिचेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । यस अवसरमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबै घटक पार्टीका प्रमुख नेताहरू उपस्थित थिए ।
यस ऐतिहासिक सम्मेलनमा धेरै महत्वपूर्ण निर्णयहरू लिइने तय भएको छ । नेता वर्षमान पुनले दिएको जानकारी अनुसार सम्मेलनमा तीन प्रमुख विषयमा छलफल र निर्णय हुनेछ ।
पहिलो, एकीकृत पार्टीको लागि नयाँ विधान तर्जुमा गर्ने र पारित गर्ने काम हुनेछ । यसले पार्टीको संगठनात्मक संरचना र कार्यशैली तय गर्नेछ । दोस्रो, पार्टीको नयाँ केन्द्रीय कमिटी चयन गर्ने प्रक्रिया अघि बढाइनेछ जसमा सबै घटक दलका प्रतिनिधित्व समावेश हुनेछ । तेस्रो, नयाँ एकीकृत पार्टीलाई निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गराउन आवश्यक पर्ने सबै निर्णयहरू लिइनेछ ।
