Tuesday, June 9News That Matters

प्रदेश १ को उदयपुरसहित पाँच जिल्लामा कोविड उपचार हुने

उदयपुर, वैशाख २९

कोरोनाको महामारी बढेसंगै संक्रमितलाई जिल्ला अस्पतालबाटै सेवा दिने व्यवस्था प्रदेश सरकारले गरेको छ । बुधबार बसेको प्रदेशसभा सामाजिक विकास समिति बैठकले उदयपुर, सुनसरी, धनकुटा, पाँचथर र संखुवासभा जिल्ला अस्पतालमा उपचार गर्न सक्ने सबैखाले पूर्वाधार तयार रहेकाले तत्काल कोभिड उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो । बाँकी जिल्ला अस्पतालमा पनि आवश्यक पूर्वाधार तयार गरी कोविड संक्रमितको उपचार सेवा सुरू गर्न निर्देशन दिएको प्रदेशसभा सामाजिक विकास समितिकी सभापति सरिता थापाले बताउनुभयो ।

अस्पताल खोज्दाखोज्दै संक्रमितले उपचार नपाएर ज्यान जान थालेपछि जिल्ला अस्पतालमै उपचार सेवाको व्यवस्था गरिने भएको छ । समितिले सबै निजी अस्पतालमा पनि कोविडको उपचार सुरू गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले गतवर्ष नै स्थापना गरेको कोशी कोभिड अस्पताल हाल बन्द रहेको तथा धरानको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ५० वेडमध्ये ३० वेड मात्रै सञ्चालनमा रहेकाले दुवै अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सामाजिक विकास मन्त्रीलाई निर्देशन दिएको छ ।

समितिले स्थानीयतहहरूको सहकार्यमा आइसोलेसन र होल्डिङ सेन्टर बनाउने, सीमानाकामा थप कडाई र व्यवस्थापन गर्ने, अक्सिजन आपूर्ति व्यवस्थित बनाउन २४ सै घण्टा विद्युत आपूर्ति सहज बनाउन पनि निर्देशन दिएको छ ।

प्रदेशबासी नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउन, पहिलो डोज लगाएकालाई दोस्रो डोज खोपको व्यवस्था गर्न पनि आग्रह गरेको छ । त्यस्तै अनुगमनका क्रममा विएण्ड सि र विराट मेडिकल कलेजले विरामीसँग अनुचित धरौटी लिइरहेको पाइएकाले निजी अस्पतालले धरौटी लिन नपाउने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।