पूर्णपुष्टि,फागुन ६
प्रहरीको कुटाइबाट एक स्थानीय १४ बर्षीय बालकको मृत्यु भएको मृत्कका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लाको खलंगामा घेराउ गरेको छ । गुठिचौर गाउँपालिका–३ का पदम बुढाको उपचारको क्रममा मृत्यु भएको हो । उनकोे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
१४ वर्षीय पदम बुढा उपचारको लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुटामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए ।
ओपिडिमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसियुमा राखेर उपचार थालिएको प्रतिष्ठानले जनाएको छ । उनको अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेको अस्पतालले जनाएको छ ।
मोबाइल चोरी गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर निर्मम तरिकाले कुटपिट गरेका कारण बुढाको मृत्यु भएको आफन्तले बताइरहेका छन् ।
गुठिचौर गाउँपालिका–३ गज्याङकोटका स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो । झडपमा मृतकका आधा दर्जन भन्दा बढी आफन्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
