
पूर्णपुष्टि, साउन ३० । सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा प्रहरीले हवाई फायर गरी १०० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ।
हिजो अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ WB74S2531 नम्बरको भारतीय कार त्यही स्थानमा छोडेर चालक जंगलतर्फ भागेको थियो। प्रहरीले लखेट्दा समेत चालक नरोकिएपछि प्रहरी टोलीले चाइनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको थियो।
हवाई फायर गर्दा समेत चालक फरार रहेका थिए। कार चेकजाँच गर्दा भित्र ५ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १०० किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फरार भएका कार चालकको खोजी कार्य भइरहेको छ।
