
पूर्णपुष्टि, बैशाख २१ गते ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
रिपोर्टर विउट बोर्डर्सले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकंक २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १ सय ८० देशमध्ये १ सय १२ औं स्थानमा पुगेको छ ।
२०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएको छ । यी घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
पत्रकार गिरफ्तारका ८ वटा, स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ३ वटा, पत्रकारमाथि आक्रमणका १३ वटा, दुवर््यवहार तथा धम्कीका ३२ वटा, पत्रकार पेशाबाट विस्थापनको एउटा र पेशागत असुरक्षाका तीनवटा घटना भएको महासंघको सञ्चार अनुगमन इकाईको अभिलेखले देखाएको छ ।
२०७५ सालमा पनि प्रेस स्वतन्तत्रा हननका ६० वटा घटना भएकामा ७७ जना पत्रकार र ५ सञ्चारसंस्था पीडित भएका थिए ।
दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम नेपाल पत्रकार महासंघले गर्ने भएको छ । कार्यक्रममा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेको अनुगमन प्रतिवेदन सार्वजनिक गरिने महासंघले जनाएको छ ।
२०७६ सालमा संसदमा सरकारले दर्ता गरेका प्रेससम्वन्धी विद्येयकमा प्रेस स्वतन्त्रताको आधारभूत मूल्य र मान्यतामै प्रहार गरेको निष्कर्षसहित त्यसलाई सच्चाउन महासंघले दबाबमूलक आन्दोलन गरेको थियो । संसदले ती कानूनलाई अझै अन्तिमरुप दिन बाँकी रहेकाले अझै दबाब जारी राख्नुपर्ने महासंघले जनाएको छ ।
नेपालमा मुख्य रूपमा राजनीतिक गतिरोध, आन्दोलन वा द्वन्द्व जारी रहेको अवस्थामा प्रेस र पत्रकारहरूलाई बढी आक्रमण हुने गरेको पाइएको छ ।
२०७४ सालमा तीन वटै तहका चुनाब भएर बनेका संघ, प्रदेश र स्थानीय तहका सरकारले बनाएका प्रेस सम्वन्धी कानून र नीतिमा प्रेस स्वतन्त्रतालाई खुम्च्याउने प्रयास जारी नै रहेका महासंघले ठहर गरेको छ ।
