Saturday, June 27News That Matters

फेरि भारतबाट सलह आयो

पूर्णपुष्टि, असार २९

भारतबाट फेरी सलह किरा नेपाल प्रवेश गरेको छ । हिजो बेलुका सलहको अर्को झुण्ड नेपाल प्रवेश गरेपनि धेरै नोक्सानी नगर्ने विज्ञहरुले बताएका छन् ।

प्यूठान, अर्घाआँची लगायतका जिल्लामा केही नोक्सानी गर्न सक्ने भए पनि अहिले पानी परिरहेकाले धेरै क्षति भने नहुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । तर केन्द्रले सावधानी भने अपनाउन आग्रह छ ।

झण्डै १० देखि १२ लाखको संख्यामा आएका सलहको झुण्ड हिजो बेलुका प्यूठानमा रहेका र केही ठाउँमा नोक्सानी गरेको खबर आएको केन्द्रले जनाएको छ ।

यो झुण्डले कत्तिको नोक्सानी गर्छ भन्ने कुरा मौसममा भर पर्ने केन्द्रको भनाई छ ।  घाम लाग्यो भने केही नोक्सानी गर्न सक्छ ।  तर पानी निरन्तर परिरह्यो भने क्षति गर्ने सम्भावना कम हुने भएकाले किसानलाई नआत्तिन बरु भगाउने उपायको खोजी गर्न आग्रह गरेको छ ।

अहिले हावाको गति पूवोत्तर दिशामा रहेकाले भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ । अझै केही सख्यामा नेपाल आउने सम्भावना कायमै रहेको जनाईएको छ ।

भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट अस्ति नेपाल आएको हो ।

१५ दिन पहिले पनि नेपालमा सलहका स–साना झुण्ड भित्रिएका थिए । तिनीहरु भने विभिन्न कारणले अहिले नष्ट भैसकेका छन् ।