Saturday, June 20News That Matters

बरिष्ठ पत्रकार चेम्जोङ सहित ४ जनालाई १ नं प्रदेश सरकारले गर्यो जनही १ लाख नगद सहित सम्मान

पूर्णपुष्टि, असार १२

उदयपुरका बरिष्ठ पत्रकार कौशल चेम्जोङ प्रादेशिक पत्रकारीता पुरस्कार बाट सम्मानित हुनुभएको छ । चेम्जोङ सहित १ नं प्रदेशका अन्य चार जना पत्रकारहरुलाई १ नं प्रदेश सरकारले सम्मान गरेको हो । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बिराटनगर स्थित प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दौसाला, नगद र सम्मान पत्रले सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा बरिष्ठ पत्रकार कौशल चेम्जोङ(उदयपुर), गञ्जबहादुर दाहाल (झापा), गोविन्दचन्द्र क्षेत्री (झापा) र ललिता भट्टराई (मोरङ) रहेका छन् । चारै जनालाई एक लाख नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो   ।

विसं २०७७ मा कोरोना महामारीका कारण वितरण गर्न नसकिएको पुरस्कारसहित यस वर्ष चार जनालाई वितरण गरिएको हो ।

सम्मान पश्चात कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले पत्रकारिता क्षेत्र मर्यादित, जिम्मेवारीपूर्ण एवं विश्वसनीय हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान पत्रकारिताले भावीपुस्तालाई मार्गदर्शन दिने खालको हुनुपर्नेमा जोड दिदैं उहाँले समाजलाई सही मार्गदर्शन गर्न सकेमा मुलकमा गणतन्त्र र सङ्घीयता बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले व्यवसायिक पत्रकारिताको माध्यमबाट समाजलाई योगदान पुर्याएबापत पुरस्कार स्थापना गरिएको स्पष्ट पार्दै यो सङ्घीयताको उपहार भएको बताउनुभयो । उहाँले मिडिया हाउस राष्ट्र, जनता, कानून र संविधानप्रति प्रतिवद्ध हुनुपर्ने उल्लेख गर्दै पत्रकारिता क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।