Saturday, June 20News That Matters

बस दुर्घटनाका २३ घाइते डिस्चार्ज, ७ जनाको विभिन्न अस्पतालमा उपचार जारी

पूर्णपुष्टि सम्बाददाता/उदयपुर, असार ६

उदयपुरकाे उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा घाइते भएका अधिकांश यात्रु उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा घाइते भएका ३० जनामध्ये २३ जनाले उपचारपछि अस्पतालबाट डिस्चार्ज पाएका छन्। बाँकी ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचाररत घाइतेमध्ये महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, सोही स्थानकी २४ वर्षीया नितु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। १८ वर्षीया रुपा महतो तथा २४ वर्षीय अनिल कुमार पासवानको महोत्तरीको बर्दिबासस्थित शुभ स्वास्थ्य अस्पतालमा उपचार जारी रहेको छ। यस्तै, ३६ वर्षीय दिनेश साह र उनका ७ वर्षीय छोरा आलोक साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप इग्निस एकेडेमी गौशालाको स्कुल बस उदयपुरगढी–७ जोगिटोलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।