Sunday, June 28News That Matters

भारतले अतिक्रमण गरेको नेपाली भूमि तत्काल फिर्ता गर्नु पर्छ : शर्मा

पूर्णपुष्टि, असार ४ गते । 

भारतले अतिक्रमण गरेको नेपाली भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले बताउनुभएको छ ।

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेश गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताउनुभएको हो ।

दवै छिमेकी असल मित्र भएकाले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नु पर्ने उहाँले बताउनुभयो । नेपालीहरुको सदाशयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको भन्दै उहाँले नेपालको भूमिमा बसेको भारतीय सेना तत्काल हटाउनु पर्ने बताउनुभयो ।

नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको उहाँले बताउनुभयो ।

त्यस्तै नेता शर्माले भन्नुभयो, “नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जीलिङ र पश्चिमको भूभाग काँगडासमेत भारतले फिर्ता गर्नु पर्छ ।,  सन् १८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पष्ट पार्दै त्यो भूभाग पनि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ ।”