Thursday, June 18News That Matters

भुगोलले पछाडि, विकासले अगाडि

बिक्रम राई
पूर्णपुष्टि, ११ जेष्ठ ।

‘यो निकै बिकट र पछाडि परेको वडा हो । भौगोलिक विकटताका कारण चुनौती नै चुनौती छन् । तर मिलेर काम गर्न सके जस्तोसुकै विकट ठाउँमा पनि विकास सम्भव छ भन्नेमा म विश्वस्थ छु ।’ यो भनाइ त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मानबहादुर राईको हो । उनले वडाको दोस्रो चौमासिक समीक्षामा ८० भन्दा बढी प्रगतिसहितका उपलब्धिहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिकाका १६ वडाहरुमध्ये १४, १५ र १६ पहाडी भेगमा पर्दछन् । वडावासीको बुझाइमा १६ नं वडा पहाडी भेगमा भए पनि अन्य वडाको तुलनामा विकासे काममा अगाडि छ । गाईघाट दिक्तेल सडकसँग जोडिएकोले वडा १४ र १५ ले सडक र बत्ती देखिसकेका थिए । विकास योजनाहरु सञ्चालन भएका थिए । तर, वडा १६ मा भने २०७४ पछि मात्र विकासको किरण देखिएको हो । वडाअध्यक्ष राईले अहिले सडक निर्माण, बत्ती र खानेपानीको व्यवस्थामा जोड दिएका छन् ।

आवश्यकताका आधारमा वडा कार्यालय भवन, स्वास्थ्य भवन, कुलो, नाली, विद्यालय भवन, पुल, तरकारी तथा दुग्ध व्यवस्थापन केन्द्र जस्ता निर्माण कार्यहरु भएका छन् । स्वास्थ्य, शिक्षा, बालबालिका, जेष्ठ नागरिकको हितका लागि पनि निक्कै काम भएको छ । पहाडी क्षेत्रको विकास योजनामा सडकलाई सबैभन्दा बढी महत्व दिइन्छ । निर्माण भैसकेको सडकलाई वडाले अलपत्र पर्न दिँदैन । वर्षेनी मर्मतसम्भार गर्छ । जाल्पा चिलाउनेका शिक्षक ईश्वर बलम्पाकी मगर भन्छन्, ‘मानिस बसोबासका लागि विकासका पूर्वधारहरु आवश्यक पर्दछन् । डाँडा, पहाड र विकटताले केही फरक पर्दैन । सुविधा भएको ठाउँमा जीविकोपार्जन गर्न सकिन्छ ।

शिक्षक मगर भन्छन्, ‘म गाईघाटबाट बढीमा एक घण्टा लगाएर विद्यालयमा पुग्छु । सडक नभएको धाउन सकिने थिएन, त्यहीँ कोठा खोजेर बस्न बाध्य हुन्थँे ।’ उनीजस्तै त्रियुगाका धेरै शिक्षकहरु सडक सुविधाबो उपयोग गर्दै टाढाटाढाबाट विद्यालय धाउने गरेका छन् ।
आँपडाँडा तिनधारेका टोल विकास समिति अध्यक्ष रमेश सार्की भन्छन्,‘वडामा भएको विकासले हामी सन्तुष्ट छौं । मेरो टोलमा यति चाँडो बत्ती र सडक बन्ला भनेर कल्पना नै गरेको थिइन ।’ सार्कीको गाउँ वडाभरिमा सबैभन्दा विकट, पहाडको टाकुरा र वरुवा खोलाको शीरमा छ । सार्कीले त्यस ठाउँमा सडक र बत्ती आउनुमा वडा नेतृत्वको मुख्य भूमिका रहेको बताए ।

‘धेरै जोखिम र धेरै बजेट लाग्ने हुँदा सडक र बत्तीको विकासमा लगानीको कल्पना गरिएको थिएन ।’ सार्कीले अगाडि भने,‘ त्यही भएर होला बत्ती र सडक मात्र होइन विद्यालय पनि थिएन हाम्रो गाउँमा ।’ अहिले त्यस वडामा तिनधारे आधारभूत विद्यालय संञ्चालनमा छ । बालबालिकाहरु गाउँमै आधारभूत शिक्षा लिन्छन् । सार्कीले वडा अध्यक्ष राईसहितका वडा सदस्य र वडा कार्यालयप्रति कृतज्ञ हुँदै भने, ‘सफल नेतृत्व र निश्पक्ष विकासले अन्धकार वस्ती उज्यालोमा परिणत हुँदैछ ।’ वडा सदस्यहरु पनि व्यावहारिक र कर्तव्यनिष्ठ रहेको स्थानीयको बुझाइ छ । ‘हामीले मानवहादुरलाई दुई तिहाईभन्दा बढी मत दिएर जिताएका छौँ । उहाँको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा जनप्रिय काम गरेकाले दोस्रोपटक पनि जिताएका हौं ।’ स्थानीय कमल कटुवालले भने ।
कटुवालका अनुसार मानबहादुरमा साना ठूला, धनी गरिब, महिला पुरुष वा बालबालिका सबैलाई समेटेर अगाडि बढ्ने क्षमता छ । त्यही क्षमताका कारण सबैले उहाँलाई विश्वास गरेका हुन् ।

राई माओवादी पार्टीमा आबद्ध छन् । राईले २०७९ को स्थानीय निर्वाचनमा प्रतिस्पर्धीलाई दुई तिहाँइभन्दा बढी मतले हराउँदै दोस्रोपटक वडा अध्यक्ष बनेका थिए । उनले झण्डै हजारको हाराहारीमा मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार रामवहादुर मगरले ३३१ र एमालेका उम्मेदवार बिष्णु मगरले १३६ मत पाएका थिए ।

अग्रज पत्रकार महेश्वर चाम्लिङले पनि वडा नं.१६ को विकासको गतिलाई अप्रत्यासित मानेका छन् । भौगोलिक बिकटताकाबीच स्थानीयले पाएको विकास चानचुने हैन । पत्रकार चाम्लिङले भने, ‘दावीका साथ भन्छु कि अन्य वडाका जनप्रतिनिधिको तुलनामा मानवहादुर खारिएको र अनुभवी नेतृत्व हो ।’
मानवहादुर उमेरले ५० हाराहारीमा पुगे । जनताको आवश्यकता र आफ्नो जिम्मेवारी पुरा गर्ने हुटहुटीले उनी सँधै व्यस्त अनि हतारमै देखिन्छन् । राई सामाजिक र शैक्षिक क्षेत्रमा लामो समय काम गरेका अनुभवी व्यक्ति हुन् । उनले करिब २२ वर्ष शिक्षण पेशामा रहेर प्रधान अध्यापकको जिम्मेवारी पूरा गरे । लामो समय सामाजिक संस्थामा रहेर काम गरे । राईले गाईघाटमा रहेको बालविकास समाज उदयपुरको अध्यक्षमा रहेर सामाजिक क्षेत्रको अनुभव लिइसकेका छन् ।

वडाअध्यक्ष राई भन्छन्,‘२०७४मा वडामा विकासका पूर्वधारहरु निकै कमजोर थिए । खानेपानी, बिजुली, सडक जस्ता कुराहरु थिएनन् । हामी जिम्मेवारीमा रहेको बेला जनताको सुख र दुःखसँग जोडिएको शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिऔँ ।’ वडाको बिकट रातापानी, धौरी मन्धने जस्ता ठाउँहरुमा पनि सडक, बत्ती र पानीको व्यवस्था भएको छ । राईले वडा नम्बर १६ पहाडी क्षेत्रमा भएका कारण काम गर्नु सोचे जस्तो सहज नरहेको बारम्बार दोह¥याए । वडा सचिव महेश खनाल त्रियुगा नगरपालिकाको १६ नं वडा विकासे गतिविधिमा निकै क्रियाशील रहेको ठोकुवा गर्छन् । खनालले त्यस वडामा विकासले गति लिनुमा नेतृत्व सकारात्मक र लगनशील हुनु नै हो भनी बताए । खनालले त्यस वडाका जनप्रतिनिधिहरु विकासको काममा एकमतले लाग्ने गरेको पनि सुनाए ।

यस वडामा ८०९ घरधुरीमा २,४४३ महिला र २,५७१ पुरुषसहित कुल जनसंख्या ५०१४ रहेको छ । वडामा सबैभन्दा बढी सडकलाई प्राथामिकता दिइएको छ । सडक, पुल, कल्भर्ट र सिडी गरी १९ ओटा काम सम्पन्न भइसकेको छ ।
वडाका १० ओटा टोलमा बिजुली झिलिमिलि भइसकेको छ । अब दुई तीनवटा टोलमा मात्रै बत्ती पुग्न बाँकी छ । बत्ती पुग्न बाँकी ४४ घर परिवारलाई सौर्य उर्जाको ब्यवस्था गरिएको छ ।

वडाका ३०० बढी घरमा स्वच्छ खानेपानीको पहुँच छ । थप १२५ घरपरिवार लाभान्वित हुने गरी वडाले पाइप वितरण गरिरहेको छ । संघीय सरकारसँगको समन्वयमा थप ३२० घरलाई स्वच्छ खानेपानी तथा सरसफाइको व्यवस्थाका लागि बरुवा बृहत खानेपानी तथा सरसफाइ योजना सुरु हुने तयारीमा छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्तिको व्यवस्था गरिएको छ । अग्रेजी माध्यमबाट पठनपाठनको तयारी भइरहेको छ । सुकौरा, जाँते र चिलाउनमा तीनओटा स्वास्थ्य भवन निर्माण गरी दक्ष जनशक्तिको व्यवस्था गरिएको छ । सुकौरामा ल्याब सेवा संञ्चालनमा छ । कृषिका लागि एक प्राविधिक र ६० वटा टनेलको व्यवस्था गरिएको छ । किसानका लागि ३५ भैसी, ५७ बंगुर र ६० वटा बाख्राका पाठा वितरण गरिएको छ । साकेला थान, स्वर्गिक मार्ग भवन, किरातेश्वर महादेव थान, गीता मन्दिर र गुम्बासँगै आँपचोर शाहीखोलामा बनभोज स्थल र बतासेमा ‘भ्यू पार्क’ निर्माण भएको छ । जनता आवास कार्यक्रम अन्तरगत ५ परिवारलाई घर र २५ घरलाई जस्तापाता वितरण गरिएको छ । वडाका १५० जना युवालाई रोजगारी दिइएको छ ।

त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले १६ नम्बर अन्य वडाभन्दा अगाडि रहेको बताइन् । सेवासुविधाको हिसाबले निकै अगाडि बढेको जनाइन् । राईले त्यस वडामा गएको बजेट ब्यावहारिक रुपमा प्रयोग भएको प्रतिक्रिया दिइन् । भूगोलले पछि पारे पनि नेतृत्वले गरेको समन्वय र लगनशीलताले वडामा विकासको न्यानो घाम चाँडै लागेको छ, उनले भनिन्।

‘एक घर एक भैँसी, खाऔँ दूध,नखाऔँ रक्सी’ र ुएक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ यी नाराहरु वडा नं. १६ मा चर्चित छन् । यही भावनाका साथ वैदेशिक रोजगारबाट गाउँ फर्किएका युवाहरु युवककुमार राई र दलबहादुर मगर भैँसीपालन र कृषि उत्पादनमा ब्यस्त छन् । यसबाट दूधको बिक्रीबाट स्थानीयको आर्थिक उन्नतिमा सहयोग पुग्ने र आत्मनिर्भरतातर्फ उन्मुख गराउने विश्वास गरिएको छ ।

वडा सदस्य गोमा कार्कीले स्वास्थ्य र सरसफाइको विषयलाई पनि नारामा उतारेको बताइन् । ‘एक घर एक धारा पूर्ण सरसफाइ हाम्रो अभिभारा” भन्ने नाराका साथ एक घर एक धाराको अभियान अगाडि सारिएको छ । वडा सदस्यहरु घमानसिंह राई, कुन्ती परियार र राम श्रेष्ठ पहिलो कार्यकालमा झैं यसपटक पनि जनतामुखी योजना बनाउने प्रयासमा छन् । उनीहरुमा फुटेर हैन जुटेर अघि बढे विकास संभव छ भन्ने साझा बुझाइ रहेको पाइन्छ ।

वडाअध्यक्ष राईले वडाको विकासमा वडासचिव महेश खनाल लगायतका कर्मचारी, सहकर्मी जनप्रतिनिधि, स्थानीय बुद्धिजीबी, शिक्षक, युवा र नागरिक समाज सबैको योगदानलाई सम्झिए । सबै पक्षसँग मिलेर काम गर्नाले परिणाम देखिएको उनको बुझाइ छ । राई भन्छन्,‘हामी विकास गर्न आएका हौँ । विवाद र द्वन्द्वले हामीलाई कमजोर बनाउँछ । विकासको गति एकताले नै ल्याउँछ ।’ देशभरि ‘नो–न–अगेन’अभियान चलिरहेको बेला त्रियुगा नगरपालिका वडा नं. १६ मा राम श्रेष्ठबाहेक सबै पुराना अनुहारहरु दोस्रो पटकका लागि चुनिएका हुन् ।