Thursday, May 28News That Matters

भुुल्केमा स्थलगत अनुगमन र सम्बोधन पछि मुख्यमन्त्रि राई सहितको टोली कटारी तर्फ

उदयपुर/बैशाख, १३

प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्केको स्थलगत अनुगमन गरी कटारीको वेलस्रोत तर्फ लाग्नु भएको छ । प्रदेश नं १ कै उच्च जोखिम जिल्ला बन्न पुगेको उदयपुरको कोरोना संक्रमित स्थान भुल्के स्थित स्थलगत अनुगमन र सम्बोधन पछि राई कटारीको वेलस्रोत तर्फ लाग्नु भएको हो ।

उदयपुरलाई सुरक्षित र कोरोना नियन्त्रण सफल बनाउन अहिले सबै क्षेत्रहरु लागि परिरहेको र प्रदेश सरकार अझै यसको पूर्ण साथ सहयोगमा रहेको मुख्यमन्त्रि राइले बताउनु भएको छ । राइले उदयपुरबासीहरुको सुरक्षा र यसको नियन्त्रणमा प्रदेश सरकारको उच्च ध्यानकर्षण रहेको बताउनुभयो । राईले कोरोना सँगको युद्धमा उदयपुर सँगै १ नं प्रदेश र देशले नै जित हाँसिल गर्ने बताउनुभयो ।

मन्त्रि राईले उदयपुरबासिहरु पूर्ण रुपमा सुरक्षाको घेरामा रहेकाले धेरै आत्तिनु नपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले उदयपुरको अवस्थालाई नियाल्दै रोगको नियन्त्रणमा बिभिन्न तहको स्थानीय, प्रदेश र संघिय सरकारहरुले सहयोग पुराउने बताउनुभयो ।

राईले संघिय संरचना तथा वर्तमान ढाँचाको सरकारले यसलाई सजिलै नियन्त्रण गर्न सक्ने बताउनुभयो । पहिलेकै अवस्थामा केन्द्रिय स्थरकै सरकार हो भने रोग नियन्त्रण गर्न निकै समस्या हुने उहाँको भनाइ छ । अहिले यसलाई व्यवस्थापन गर्न निकै सहज भएको छ । स्थानीय सरकारले सक्दो व्यवस्थापन नसके प्रदेश र संघले पनि तहद्ध हिसावले सहयोग गर्ने उहाँले बताउनुभयो ।

राइले प्रदेशबाट उदयपुरलाई बिभिन्न स्वास्थ्य सामाग्री, स्वास्थ्य तथा सुरक्षा जनशक्ति, राहत लगाएतका आवश्यक वस्तुहरु पनि पठाइरहेको बताउनुभयो । उहाँले जिललालाई आउने दिनहरुमा पनि आवश्यक कुनै पनि वस्तु तथा जनशक्तिहरुमा सहयोग पुराउने बताउनुभयो ।

उहाँले यसको नियन्त्रणको लागि उदयपुरमा प्रभावकारी लकडाउन र जिल्लालाई पूर्ण तरिकाले लक गर्नु पर्ने बताउनुभयो । उहाँले जनताहरुलाई केहि समय घरमै बसाएर यसको नियन्त्रण गर्न सकिने बताउनुभयो । यसको लागि जनताहरुको आवश्यकतालाई पुरा गर्न स्थानीय, प्रदेश र संघिय सरकारले जिम्मा लिने बताउनुभयो ।

राइले रोग नियन्त्रणको लागि लकडाउनको पूर्ण पालनाको कुनै विकल्प नरहेको भन्दै जनताहरुलाई स्थानीय सरकारले घरमै बस्न आग्रह गर्न र खाद्यन्नको पूर्ण व्यवस्था गर्न अनुरोध गर्नुभएको छ । स्थानीय सरकारले नधाने खाद्यन्नको व्यवस्थामा प्रदेश सरकारले पनि पठाउने बताउनुभयो ।

उहँले कुनै पनि विपन्न वर्गहरुमा निष्पक्षका साथ पछि प्रश्न नउठ्ने गरी वास्ताविक सबै ज्याला मजदुरी तथा विपन्न परिवारमा खाद्यन्नको अभाव हुन नदिन पनि अनुरोध गर्नुभयो ।

मुख्यमन्त्रि राई सहित सामाजिक विकास मन्त्रि जिवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्की सहितको टिम कटारी वेलस्रोत स्थित आइसोलेसन वार्ड व्यवस्थापनको लागि अनुगमन गर्न कटारी तर्फ लाग्नुभएको हो ।