
पूर्णपुष्टि, जेष्ठ २५
मदिरा सेवन गरेर सवारी चलाउदा विराटनगरमा गत बिहिबार एक मजदुरको ज्यान गएकोे थियो । सवारी दुर्घटनामा आरोपी सांसदका छोरा रविन कार्कीविरुद्ध सवारी ज्यान मुद्दामा प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।
प्रहरीले ७ दिने म्याद थपको माग गरे पनि अदालतले ५ दिनको अनुमति मात्र दिएको छ ।
जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुईजना मजदुरलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरीक मुकेश शर्माको ज्यान गएको थियो भने मोरङकोे कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भिर घाइते भएका थिए । राजवंशीको स्वास्थ्य अवस्थामा नाजुक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा रबिनले विराटनगर–५ स्थित होटल एडमायरमा मदिरा सेवन गरेर कार चलाएकोले दुर्घटना भएको खुलेको छ । रबिन प्रदेश नम्बर १ का सांसद बिन्दिया कार्कीका छोरा हुन् ।

रबिनसँग सवारी चालक अनुमति पत्र नभएको दाबी गरिएको छ । लाइसेन्सविना नै सवारी चलाएर दुर्घटनामा परी कुनै व्यक्तिको मृत्यु भए, सवारी चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था रहेको छ ।
लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुने कानुनमा उल्लेख छ ।
उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ ।
