
पूर्णपुष्टि, साउन २२ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका विभिन्न भागमा अति भारी वर्षाको पूर्वानुमान गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
विशेष गरी रातको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाको रूपमा परिभाषित गरेको छ।
यस्तो अत्यधिक वर्षाले बाढी र पहिरोको जोखिम बढाउने भएकोले महाशाखाले सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ। मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकाले बुधबारसम्म मनसुन सक्रिय रहने र यो समय अति जोखिमपूर्ण हुने जनाइएको छ। महाशाखाले जारी गरेको विशेष बुलेटिनमा सम्भावित प्राकृतिक प्रकोपको सामना गर्न तयार रहन समेत आग्रह गरिएको छ। नागरिकहरूलाई सतर्कता अपनाउन र आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्न सुझाव दिइएको छ।
