
पूर्णपुष्टि, असोज १४
मलेसियामा नेपाली श्रमीकलाई बन्धक बनाएर रकम असुल्ने एक जना नेपाली काठमाण्डौबाट पक्राउ परेको छ । मलेसियाको टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने मोरङ सन्दकपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ काठमाण्डौबाट पक्राउ परेको हो ।
श्रेष्ठले दाङका मध्म रैदासलाई अपहरण गरी श्रीमतीसँग पैसा असुलेको र अहिलेसम्म पनि बन्धक जस्तै बनाएर राखेको भन्ने उजुरीको आधारमा उनलाई मंगलबार काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
मलेसियामा कार्यरत मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई नेपालमा श्रीमतीलाई विभिन्न नम्बरबाट फोन गरी ६० हजार मलेसियन रिंगिट नहालिदिए ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।
विभिन्न नम्बरबाट आउने फोनमा रैदासकी श्रीमतीलाई दुर्गाबहादुरको नाममा रहेको हिमालयन बैंकको खातामा मलेसियन रिंगिट ६० हजार हालेमा मात्र छाडिदिने नत्र मारिदिने धम्की दिएपछि परिवारले फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा विभिन्न समयमा हालिदिएको थियो ।
रकम खातामा हालिदिएपछि मात्रै रैदासलाई दुर्गाबहादुरले छाडिदिएका थिए । तर पासपोर्ट आफ्नै साथमा राखेर श्रेष्ठले रैदासलाई अहिलेसम्म पनि नेपाल आउन नदिएर अघोषित रुपमा बन्धक जस्तै बनाई राखेको भन्दै उनकी श्रीमतीले सीआईबीमा निवेदन दिएकोे थियो ।
श्रेष्ठ नेपाल आएको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनलाई जिपमा चढेर बाँसबारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा कान्ति बाल अस्पताल नजिकै सडकबाट पक्राउ गरी थप अनुसान्धान थालिएको सीआईबीले जनाएको छ ।
श्रेष्ठले मलेसियामा काम गर्न गएका सोझा नेपालीलाई धम्काएर रकम असुल्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको बुझिन आएको पनि सीआईबीले जनाएको छ । उनले अन्य व्यक्तिलाईसमेत रैदासलाई जस्तै व्यवहार गरेको हुन सक्ने देखिएकाले अनुसन्धान भइरहेको जनाइएको छ ।

