
पूर्णपुष्टि, मंसिर २५
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश अधिवेशन देशैभर भईरहेको छ । पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले १ बजे भर्चुअल रुपमा देशैभरीको अधिवेशनलाई उद्घाटन गर्नुभयो । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन सुरु भएको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

प्रदेश नं १ को अधिवेशन १ बजे बाट बिराटनगरमा सुरु भएको छ । प्रदेशमा १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ ।
