Sunday, May 17News That Matters

माओवादी नेता पाण्डेको हत्या आरोपमा उनकी श्रीमतीसहित ११ जना कारागार चलान

पूर्णपुष्टि, साउन ८

नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित ११ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । बिहीबार जिल्ला अदालत कपिलवस्तुले हत्यामा संलग्न मुख्य अभियुक्त पाण्डेकी श्रीमती महिमा र ओमप्रकाश यादवसहित ११ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको हो।

प्रहरीले अनुसन्धानपछि पाण्डेकी श्रीमती, योजनाकार ओमप्रकाशसहितका ११ जनालाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

पुर्पक्षमा जेल जानेमा रमजान साह मुसलमान, साकिर अलि पखिया छन् ।

यस्तै, कारागार चलान भएका अन्यमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नरसत अलि र प्रविण गुप्ता रहेको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार महिमाले आफ्ना श्रीमानको हत्याका लागि विभिन्न समयमा यी व्यक्तिहरूलाई प्रयोग गरेकी थिइन् । गत जेठ ५ गते ओमप्रकाश यादवसहित तीन जनालाई उनले श्रीमानको हत्याका लागि ‘सुपारी’ दिएकी थिइन् ।

यादवसहित तीन जनाको समूहले पाण्डेलाई दुई गोली हानेका थिए । गोली लागेर घाइते भएका पाण्डेको भैरहवास्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठमाडौं ल्याउने क्रममा ज्यान गएको थियो ।