Wednesday, May 20News That Matters

मुख्यमन्त्री कार्कीद्वारा सामाजिक सञ्जालसम्बन्धी कडा कानुन ल्याउन सङ्घीय सरकारलाई आग्रह

पूर्णपुष्टि, बैशाख २० ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्र हत्या नियन्त्रण गर्न सङ्घीय सरकारलाई शीघ्र कानुन ल्याउन आग्रह गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको प्रयोग संविधान र कानुनको दायराभित्र रहनुपर्नेमा जोड दिए ।

“सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र दोषारोपणले सामाजिक सद्भाव र सहिष्णुता खल्बलिएको छ,” मुख्यमन्त्री कार्कीले भने, “यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी कानुन अत्यावश्यक छ ।”

नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । एक लाख रुपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको थियो । त्यसैगरी, २५ हजार रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ६० वर्ष नाघेका वरिष्ठ पत्रकार यज्ञ शर्मालाई समेत विशेष सम्मान गरिएको थियो । यस कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका पत्रकारहरू, सञ्चारकर्मीहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । मुख्यमन्त्री कार्कीले पत्रकारिताको महत्त्व र जिम्मेवारी बारे पनि चर्चा गर्दै सत्य, तथ्य र न्यायपूर्ण सूचना प्रवाह गर्न आग्रह गरे । उनले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा नकारात्मक प्रभाव पारेको र यसलाई नियन्त्रण गर्न कानुनी व्यवस्था आवश्यक रहेको बताए ।