
पूर्णपुष्टि, फागुन १०
नेपालको सय वटा पर्यटकिय गन्तब्यभित्र परेको मुन्धुम पदमार्ग निर्माण कार्य तिब्र रुपमा भईरहेको छ ।
गत वर्ष नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने सय वटा पर्यटकीय गन्तव्यभित्र सूचीमा परेको मुन्धुम पदमार्ग स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लगानीमा करिब २५ किलोमिटर निर्माण कार्य सम्पन्न भईसकेको परियोजनाले जनाएको छ । ८८ किलोमिटर निर्माण गर्ने योजनासहित काम भइरहेको छ ।
स्थानीय आर्थिक विकासको लागि मुन्धृुम पदमार्ग पर्यटन प्रवर्द्घन परियोजना अन्र्तगत निर्माण भइरहेको छ ।
अहिले पदमार्ग फराकिलो बनाउने, सिँढी बनाउने, चौतारा बनाउने, किराँत पहिचानसँग जोडिएका चीह्नहरुको सम्बर्धन तथा प्रवर्धन गर्ने, साइनबोर्ड राख्ने कार्य भइरहेको जनाईएको छ ।
मुन्धुम पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिका, सालपा सिलिचो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिकाका र खोटाङको साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिकाको भूगोलमा पर्दछ ।
अहिले साकेला, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका, षडानन्द नगरपालिकाका भूगोलमा विभिन्न ३३ वटा समूहले काम गरिरहेको जनाईएको छ ।
मुन्धुम पदमार्ग किराँती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ । किराँतीहरुले मुन्धुमको आधारमा जन्मदेखि मृत्युसम्मको क्रियाकलाप गर्ने परम्परा रहेको छ । यो पदमार्ग विभिन्न किराँती समुदायको बसोबास गर्ने ठाउँहरुमा भएकाले विभिन्न किराँती संस्कृति, संस्कार र जीवनशैली झल्किने निमार्ण कार्य भइरहेको छ ।
यस पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला आधा दर्जन भन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ भने तराईका भू–भागहरु समेत अवलोकन गर्न सकिने छ ।
