
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १६ ।
उदयपुरको रौतामाई गाउँपालिका –८ मुर्कुची बजार क्षेत्रमा नीजि जग्गाको बाहानामा अबैधरुपले ढुङ्गा निकालेर विक्री भइरहेको छ । उक्त कार्यमा रौतामाई गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, निर्माण ब्यवसायी स्थानीय उद्धव राउत र मुर्कची–पुवारे–रौता निकास सडक आयोजनाको ठेकेदार कम्पनी अजय–स्वयम्भु–लामा जेभी निर्माण कम्पनीको नाम मुछिएको छ । निवर्तमान पालिका अध्यक्ष खड्का र राउतले नीजि जग्गामा जेसिबी नै प्रयोग गरी ढुङ्गा ठुलो मात्रामा उत्खनन् गरेको र अबैधरुपले सडक ठेकेदार कम्पनीलाई बिक्री वितरण गरेको स्थानीय युवा तथा जेन्जी समुहले बताएका छन् । नीजि जग्गामा एक मिटर भन्दा अधिक गहिरो जेसिवि मेसिन प्रयोग गरी उत्खनन् गरेर टिफरले ढुङ्गा ढुवानी गरेको बताइएको छ । रातारात सयौं टिपर ढुङ्गा निकासी गरेको उनीहरुले बताएका छन् । नीजि जग्गाकै भएपनि विना प्रक्रिया, स्थानीय सरकारलाई राजस्व नतिरी कसैले विक्री वितरण गर्न नमिल्ने र सडक ठेकेदार कम्पनीले पनि यसरी अबैधरुपमा खरिद गरेर प्रयोग गर्न मिल्दैन । वडा र पालिकासंग समन्वय तथा प्रक्रियामा नगई अबैंधढंगले ढुङ्गा किनबेच भएको पाएपछि स्थानीय युवाहरु त्यसको विरोधमा उत्रिएका छन् । निवर्तमान पालिका अध्यक्ष खड्का र बाँसघारे बा भनिने एक स्थानीयको जग्गाको ढुङ्गा उत्खनन् गरिएको हो । नीजि जग्गामा ठूला मेसिन प्रयोग गर्नुपर्दा पालिकामा प्रक्रिया पुरा गर्नुपर्ने, वातावरणीय परिक्षण, मुल्याङ्कन हुनुपर्ने हुन्छ । तर त्यस्ता कुनै प्रक्रिया पुरा नगरी मनोमानी ढंगले भएको पाइएको छ ।

वडाध्यक्ष मनोज मगरका अनुसार अबैंधरुपले उत्खनन् र विक्री वितरण भइरहेको भन्दै विरोध आएपछि हाललाई सो कार्य बन्द गराइएको छ । पालिकाबाट आवश्यक अनुगमन, मुल्यांकन र निर्णग गरेर मात्र त्याँहाको बाँकी काम अगाडि बढाइने वडाअध्यक्ष मगरले बताउनुभयो ।
पालिका निवर्तमान अध्यक्ष खड्काले आफुले आफ्नाे जग्गाबाट निकालेको ढुङ्गा सङ्कलन गरी एकठाउँमा राखेको प्रक्रिया पुर्याएर मात्र बिक्री गर्ने बताउनुभयो । आरोप लागेजस्तो अबैंधरुपमा आफुले विक्री नगरेको उहाँको भनाई छ ।
निर्माण ब्यवसायी राउतले गाउँकै विकासको काम, सडकको लागि केही ढुङ्गा बिक्री गरेको स्विकार गर्नुभयो । 
पालिकामा राजस्व छली गरी ब्यक्तिगत फाइदामा विक्री वितरण भएको स्थानीय युवाहरुले बताएका छन् । “अबैंधरुपमा ढुङ्गा विक्री वितरण भइरहेकाले विरोध जनाएका छौं ।” स्थानीय युवा किरण राउतले भन्नुभयो ।
ढुङ्गा उत्खनन् र निकासी गर्दा सरकारी बजेटले निर्माण भएका कालोपत्रे सडक र नालीहरुमा समेत क्षती पुगेको बताइएको छ । गलत कामको सदैव खबरदारी गरिने स्थानीय युवा नारागण दाहालले बताउनुभयो ।
भिडियाे :
