Wednesday, April 22News That Matters

मेयर साम्पाङको एकलौटी निर्णयले धरानमा तरङ्ग : खानेपानी शुल्क वृद्धिको चौतर्फी विरोध

पूर्णपुष्टि, साउन १६ ।  धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुलमा अत्यधिक वृद्धि गरेपछि स्थानीय राजनीतिक दलहरू र जनप्रतिनिधिहरू आन्दोलित बनेका छन्। पालिका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले साउन १ देखि लागू हुने गरी यो वृद्धि गरेको हो।

बोर्डले जारी गरेको सूचीअनुसार सबै शीर्षकको शुल्कमा वृद्धि भएको छ। खानेपानी जडान, होल चेञ्ज, नामसारी, मर्मत तथा चेकमा ९०० प्रतिशतसम्म महसुल वृद्धि भएको छ। उदाहरणका लागि, १ इन्चको पाइपको जडान शुल्क १५ हजार रुपैयाँबाट बढेर ५० हजार रुपैयाँ पुगेको छ। त्यस्तै, २ इन्चको पाइप जडान शुल्क ७५ हजार बढेर १ लाख रुपैयाँ पुगेको छ।

होल चेन्ज दस्तुरमा पनि उल्लेखनीय वृद्धि गरिएको छ। १ इन्चको पाइपमा होल चेन्ज शुल्क ४ हजारबाट बढाएर १० हजार बनाइएको छ। नामसारी शुल्कमा पनि ठूलो वृद्धि गरिएको छ, जहाँ २ इन्चको नामसारीमा १९ हजार ८०० सम्म वृद्धि गरिएको छ।

मर्मत तथा धारा चेकको शुल्क पनि बढाइएको छ। यसअघि सबै इन्चको धारा मर्मत तथा चेक शुल्क ५०० रुपैयाँ थियो, जसलाई बढाएर १० हजारसम्म पुर्‍याइएको छ। यस्तो अत्यधिक वृद्धिको विरोधमा १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले बिहीबारदेखि विरोध कार्यक्रम सुरु गर्ने र २० साउनबाट धर्ना दिने योजना बनाएका छन्।

उपमेयर आइन्द्रबिक्रम बेघा लगायत केही जनप्रतिनिधिहरू पनि यस वृद्धिको विरोधमा उत्रिएका छन्। उनीहरूले यो निर्णय एकलौटी रूपमा गरिएको र जनताको हितविपरीत रहेको बताएका छन्। नेपाली कांग्रेस नगर सभापति श्याम पोखरेलले यो निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। उनका अनुसार शुल्क वृद्धि गर्नुअघि समिति गठन गरेर अध्ययन गर्नुपर्ने थियो।