Sunday, June 21News That Matters

मोरङमा शिकारीको गोली लागेर १ जनाको मृत्यु, फरार रहेका ४ पक्राउ

पूर्णपुष्टि, जेष्ठ २०

मोरङमा ज्यान मुद्दाका फरार प्रतिवादीहरू हतियारसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बुधबार चार जना फरार प्रतिवादीलाई चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

वैशाख ८ गते हस्तकुमार राई, रुविन लिम्बु, गजेन्द्रबहादुर राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा सिकार खेल्न गएका थिए । उनीहरूमध्ये गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागि हस्तबहादुरको ज्यान गएको थियो । त्यसको भोलिपल्टै रुविन लिम्बु र गजेन्द्रबहादुर राई पक्राउ परे पनि अन्य व्यक्तिहरू फरार थिए ।

केराबारी गाउँपालिका–३ का हस्तबहादुर राईको कर्तव्य ज्यान मुद्दामा फरार रहेका सोही स्थानका ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय वुद्धवीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बुलाई फाक्रउ गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

खड्काका अनुसार उनीहरूले बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो र पातले छोपेर भरुवा बन्दुक लुकाएका थिए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । प्रहरी निरीक्षक सरोज खनालका अनुसार पक्राउ परेकाहरूलाई ज्यानमुद्दा र हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ ।