Tuesday, May 12News That Matters

मौसम विभागले ५६ जिल्लामा जारी गर्‍यो ‘रेड अलर्ट’

पूर्णपुष्टि, असोज १० । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । यो अलर्टले उच्च जोखिमको सम्भावनालाई संकेत गर्दछ । यसअघि असोज ७ गते जारी गरिएको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखिएको थियो ।

महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला मुगु र हुम्ला मात्र न्यून जोखिममा छन् । मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण गरेका छन् ।

असोज १० गते बिहीबारदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको छ ।

यो वर्षाले कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषकहरूलाई नियमित मौसम अपडेट हेर्न सुझाव दिइएको छ । भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । नदीनालाहरूमा पानीको सतह बढ्ने र दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने आशंका गरिएको छ । मौसमविदहरूले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।