
पूर्णपुष्टि, असोज २५ । मौसमी प्रणाली देशबाट बाहिरिएपछि तापक्रम घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्दै गएको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौंलगायत देशभरको तापक्रम निरन्तर घटिरहेको छ । यसले गर्दा बिहान र साँझको समयमा जाडो अनुभूति बढेको छ । शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम १।३३ डिग्री सेल्सियस मापन गरिएको छ । माथिल्लो हुम्लामा हिमपात भएपछि तापक्रममा गिरावट आएको हो । हिमपातले न्यालु सडकखण्ड अवरुद्ध भएको छ ।
जुम्लाको तापक्रम पनि ३.१ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको छ, जुन शुक्रबारको १५.६ डिग्री सेल्सियसभन्दा कम हो । यो अझै घट्ने अनुमान गरिएको छ । केही दिनअघि भएको उल्लेखनीय वर्षाले पूर्वी नेपालमा ठूलो क्षति पुर्याएको थियो । हाल मौसमी प्रणाली देशका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पूर्वी नेपालका केही स्थानमा हल्का वर्षाको सम्भावना भए पनि देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
