Sunday, June 28News That Matters

म्याद नाघेको ५ वर्ष पछि सामान बिक्री गर्ने व्यापारीलाई ३ लाख जरिवाना

पूर्णपुष्टि, फागुन १३

पाँच वर्ष अगाडि उपभोग्य मिति सकिएको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय सकिएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७ सय बोरा बरामद भएको छ ।

सन् २०१३ मा उत्पादन भएको  रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा फेला पारेको कार्यालयले जनाएको छ ।

भारतबाट आयात गरिएको दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ । उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि जरिवाना गरेको जनाएको छ ।

बोहोराले दाल विराटनगरसहित देशभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् । बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ ।

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर त्यही ठाउँमा नयाँ लेबल (स्टिकर) राखेर दाल बजार पठाउने कार्य गर्दै आएको थियो ।