Friday, May 1News That Matters

युक्रेन युद्धमा नेपाली दाजुभाइको त्रासदी : एकको मृत्यु, अर्को अस्पतालमा

पूर्णपुष्टि, असार २२ । कञ्चनपुरका दुई दाजुभाइको युक्रेन युद्धमा संलग्न हुने निर्णयले एक परिवारमा ठूलो विपत्ति निम्त्याएको छ। वेदकोट नगरपालिका-९ सुन्दरपुरका विराजन र नीराजन विष्टको रुसी सेनामा भर्ती हुने निर्णयले परिवारलाई शोकमा डुबाएको छ।

परिवारका अनुसार, ४३ वर्षीय जेठा छोरा विराजन विष्टको वैशाख १७ मा युद्धमा मृत्यु भएको छ। उनकी आमा जानकी विष्टले भनिन्, “१४ दिनपछि मात्र हामीले यो दुःखद खबर पायौं। हाम्रो संसार नै उजाडियो।” ३९ वर्षीय कान्छा छोरा नीराजन विष्ट गोली लागेर गम्भीर घाइते भएका छन्। “नीराजन अहिले मस्कोको अस्पतालमा छ। उसको दायाँ हात र छातीमा गोली लागेको छ,” जानकीले आँसु थाम्दै भनिन्।

विराजनकी श्रीमतीले बताइन्, “मेरा श्रीमान्ले रुसको स्थायी बसोबास पाएपछि मात्र फर्कने भन्थे। तर उहाँ फर्किनुभएन।”नीराजनकी श्रीमती सीताले भनिन्, “मैले उहाँलाई नजान भनेकी थिएँ। तर दुवै दाजुभाइ तयार भएपछि मेरो कुरा सुनिएन।” परिवारका अनुसार, युद्धका क्रममा विराजनले आफ्नो भाइलाई बचाउन प्रयास गरेका थिए। “जेठोले कान्छोलाई बंकरभित्र पस्न दिएनन्। आफू मात्र बंकरमा पसे,” जानकीले बताइन्। परिवारले अन्य नेपालीहरूलाई यस्ता खतरनाक निर्णय नलिन अपिल गरेको छ।