Tuesday, April 21News That Matters

राज्यमन्त्री चढेको गाडीमा ढुङ्गा प्रहार गर्ने छ जना पक्राउ

उदयपुर, असोज १७ ।
कोशी प्रदेशका राज्यमन्त्री सृजना राई चढेको गाडीमाथि मंगलबारराती ढुङ्गा प्रहार गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरवानी भन्ने ठाउँमा लुटपाटको प्रयासले ढुङ्गा प्रहार गरेको आशंकामा छ जनालाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय आकाश राई, विशाल राई, लोहनसिंह राई, सुदीप राई, थानविन राई र सुरेश राई गाउँमै पक्राउ परेका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।

भोजपुरको आमचौकमा बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगरतर्फ फर्कने क्रममा राती करिब ११ बजे राज्यमन्त्री राई चढेको गाडीमाथी लुटपाटको प्रयाससहित ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताउनुभयो । राज्यमन्त्री राईको स्वकीय सचिव अनुहांग राईका अनुसार राज्मन्त्रीसहित ७ जना चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाटको प्रयास भएको थियो तर चालकले गाडी नरोकी अगाडी बढाएपछि पछाडीबाट ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा गाडीमा लागेपनि क्षती भने भएको छैन ।

राज्यमन्त्रीले रातीको समयमा हिड्डुल गर्दा सुरक्षा निकायसंग समन्वय नगरेको पाइएको छ । सुरक्षासंग समन्वय नगरेकोले घटना घटेपछि मात्र जानकारी भएको थियो । बाढी प्रभावित क्षेत्रको अनुगमनमा आउँदा सम्बन्धीत स्थानीय तहसंगसमेत समन्वय नभएको देखिएको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले राज्यमन्त्री आउनेजाने बारे कुनै जानकारी नपाएको, घटना घटिसकेपछि मात्र थाहा पाएको बताउनुभयो ।