Tuesday, April 21News That Matters

बीपी राजमार्ग खोल्न सेनाको सहयोग, प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पूर्णपुष्टि, असोज १७ ।  विपद्का कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन सरकारले नेपाली सेनाको समेत सहयोग लिने भएको छ । बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा तीन जना मन्त्रालयका र एक जना सेनाका प्राविधिक सम्मिलित टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।

सैनिक स्रोतका अनुसार, पहिरोले क्षतिग्रस्त भएको १० देखि १२ किलोमिटर सडक खण्डमा वैकल्पिक मार्ग बनाउन विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने भएकाले सेनालाई संलग्न गराइएको हो । यसअघि भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच भएको छलफलमा स्रोत साधनको अभावमा प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको जानकारी गराइएको थियो ।

रक्षामन्त्री राईले प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत यसबारे छलफल गरेका छन् । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वमा सम्भाव्यता अध्ययन भइरहेको र प्राविधिक टोलीको रिपोर्टपछि आवश्यकता अनुसार सेनाको थप सहयोग लिने विषयमा निर्णय हुनेछ । गत शुक्रबार र शनिबारको भारी वर्षाका कारण बीपी राजमार्गको काभ्रेको मंगलटार नजिक सडक बगाउँदा सयौं यात्रु अलपत्र परेका थिए । नेपाली सेनाले हाल काठमाडौं-तराई द्रुतमार्गसहित विभिन्न सडक निर्माणको जिम्मा लिइरहेको छ ।