
पूर्णपुष्टि, १७ असोज ।
त्रियुगा नगरपालिका वडा नं १० ले बडा दशैँको अवसरमा गरिब, असहाय र अशक्त व्यक्तिहरूलाई राहत वितरण गर्दै शुभकामना आदान(प्रदान कार्यक्रम आयोजना गरेको छ। राहत सामाग्री त्रियुगा नगर प्रमुख बसन्त वस्नेत र उपमेयर महेश्वरी राईले वितरण गरे ।
वडाअध्यक्ष किरण पाण्डेका अनुसार वडाका ५० घर परिवारलाई २५ किलोको एक बोरा चामल, एक पोका तेल, एक पोका नुन र दाल प्रदान गरिएको छ। पाण्डेले राहत वितरण गर्दै भने, चाडबाडको मुखमा गरिब, असहाय र अशक्त व्यक्तिहरूलाई यो राहत वितरण गरिएको हो । यस राहतले उनीहरूको चुल्होमा आगो बल्ने र चाडबाड मनाउन सहज हुने विश्वास गरिएको छ ।
यसैबीच, बाल दिवसको अवसरमा आयोजित तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा वडा नं १० बाट सहभागी बाल मन्दिर माविका र लिटल फ्लावर्सका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
यस कार्यक्रमले समुदायमा एकता र सहयोगको भावना बढाउनुका साथै बालबालिकाहरूको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्य राखेको देखिन्छ । त्रियुगा नगरपालिकाले यस्ता सामाजिक कार्यक्रमहरू मार्फत स्थानीय समुदायको कल्याण र विकासमा योगदान पुर्याउँदै आएको छ ।

