
पूर्णपुष्टि/उदयपुर, साउन ७ ।
सडक डिभिजन कार्यालय लहानले उदयपुरको चौदण्डीगढी नगरपालिका –४ चटपटेटोलमा रातारात निर्माण गरेको कालोपत्र सडक उप्किएको छ । असार २० गते सम्पन्न गर्नुपर्ने योजनाको बजेट सिध्याउन सडक कार्यालय र ठेकेदारको मिलेमतोमा रातारात साउन २ देखि ४ गते गरिएको थियो । नाम मात्रको सो कालोपत्रे सडक सजिलै उप्किने, भाँचिने, भाँसिने अवस्थाको बनेको स्थानीय उपभोक्ता लङ्कराज तामाङले बताउनुभयो । 
गुणस्तरहीन हुनुमा कमसल ढुंगा, गिट्टिबालुवा, सिमेन्टको प्रयोग, मापदण्ड विपरित वर्षातकाबीच हतारमा काम रहेको स्थानीय सविन कार्कीले बताउनुभयो । ६८ लाख ६३ हजार ५७७ रुपैया बजेटको सो योजना सिताराम कन्ट्रक्सन बेल्टारले गएको बैशाख १२ गते सम्झौता गरी काम बढाएको थियो । समयमा काम नगरेपछि यसरी रातारात काम गर्दा कालोपत्रे सडक मापदण्ड र गुणस्तरहिन भएसंगै बजेटको दुरुपयोग भएको छ ।
सडक डिभिजन लहानका प्रमुख इन्जिनियर आशुुतोष कर्णले म्याद थप गरि काम अगाडि बढाएको र गुणस्तर परिक्षणको काम बाँकी रहेको बताउनुभयो ।
सरोकारवालाहरुले म्याद थप्न नमिल्ने सो सडक योजनामा सडक कार्यालय र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी दिएको बताइएको छ ।
“हामीले बुझेसम्म यो सालतमामी योजना हो, असार २० भित्रमै सम्पन्न हुनुपर्छ, रातारात साउनमा गुणस्तरहिन काम गर्न बजेटको दुरुपयोग हो ।” स्थानीय गणेश राईले भन्नुभयो “दुरुपयोगको बारेमा अख्तियारमासमेत उजुरी लगाएका छौं ।”
फाेटाे फिचर :





