Tuesday, May 12News That Matters

रामपुर सुरक्षा बेसमा सशस्त्र प्रहरीको मनसुन पूर्व तयारी निरीक्षण

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन उच्च सतर्कता अपनाउन निर्देशन
पूर्णपुष्टि /उदयपुर, वैशाख २९ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनीष थापाले उदयपुरको रामपुरस्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेसको स्थलगत अनुगमन तथा निरीक्षण आज गर्नुभयो ।
रामपुर सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी नीरिक्षक राजविक्रम खडकाले दिनुभएको जानकारी अनुसार निरीक्षणका क्रममा डिआइजी थापाले मनसुन पूर्व तयारी, विपद् व्यवस्थापन तथा सम्भावित प्राकृतिक तथा मानवीय जोखिम न्यूनीकरणका लागि गरिएको तयारी अवस्थाबारे विस्तृत जानकारी लिनुभयो ।
अनुगमनका क्रममा विशेषगरी आगलागी, चट्याङ, वन डढेलो, सडक दुर्घटना तथा बाढी, पहिरो र डुबानजस्ता पानीजन्य विपद्का घटनामा तत्काल उद्धार तथा प्रतिकार्य गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोत-साधनको अवस्थाबारे निरीक्षण गरिएको साथै विपद् प्रतिकार्यका लागि आवश्यक सुरक्षा सामग्रीको व्यवस्थापन, भण्डारण तथा तयारी अवस्थामा राखिएका स्टेण्डबाइ टोलीको अवस्था समेत मूल्यांकन गर्नुभयो ।
डीआईजी थापाले निरीक्षणका क्रममा सुरक्षा बेसमा कार्यरत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई विपद् आइपर्नुअघि नै उच्च सतर्कता अपनाउन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय बढाउन तथा कुनै पनि आपत्कालीन परिस्थितिमा तत्काल परिचालन हुन तयार रहन निर्देशन दिनुभयो ।
उहाले मनसुनको समयमा बाढी, पहिरो तथा डुबानका घटनाबाट जनधनको ठूलो क्षति हुन सक्ने भएकाले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्व तयारीमा कुनै कमी हुन नदिन साथै अनुशासन, जिम्मेवारीबोध, लगनशीलता र उच्च मनोबलका साथ नागरिकको सुरक्षामा समर्पित भएर काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।
निरीक्षणका क्रममा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, सञ्चार उपकरण, उद्धार सामाग्री तथा परिचालन तयारीको अवस्थाबारे समेत जानकारी लिनुभयो । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद्का सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई तीव्र बनाएको जनाएको छ ।